काठमाडौं – नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको हो । जसमा दुई हजार ३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै २४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।सक्रिय सङ्क्रमितमध्ये एक हजार ७०१ जना होम आइसोलेसनमा, ७५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा छन् ।