हेटौंडा – गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लहान नगरपालिका–२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका–२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते बनाएका थिए । उनलाई प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको प्रहरीले जनाएको छ ।खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।