काठमाडौँ – तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई यस्तो परिकार खुवाउने शास्त्रीय मान्यता छ ।
तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । कृषि व्यवसायमा गोरुले पु-याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ ।
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् ।
यस्तो छ कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्व
हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।
ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।
कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।
कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।
कुकुरहरु हाम्रो गाँउघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ । गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन् । त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन् । जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोड्दैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् ।