प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रेसरकुकर प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान् पक्राउ

२०८० कार्तिक १, बुधबार २०:३८ बजे

उदयपुर – उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईले मंगलबार राति २९ वर्षीया श्रीमती छविमाया राईलाई खाना पकाउने प्रेसरकुकर प्रहार गरी त्रियुगा नगरपालिका–५ श्रीपुरमा हत्या गरेका हुन्। नातामा दिदी पर्नेको घरमा पाहुना लाग्न गएको वेला श्रीमतीसँग विवाद भएपछि प्रेसरकुकर प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रेसरकुकरको प्रहारबाट भान्सा कोठामा सुतिरहेकी छविमाया गम्भीर घाइते भएकी र उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।