प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवान राईको मृत्यु

२०८१ आश्विन २१, सोमबार ०७:५७ बजे

काठमाडौं – कार र मोटरसाइकल ठोक्किँदा मोरङमा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।