काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । आयोग पदाधिकारीको बैठकले बुधबार मध्यरातिदेखि आचारसंहिता लागू हुने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न-गराउन सबै पक्षसँग अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता उल्लङ्घनको घटनामा जुनसुकै माध्यमबाट जोकोहीले उजुर गर्न सक्ने नयाँ व्यवस्था ल्याएका छौँ, यसले प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिएको छु ।”
आयोगले आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दललाई ६० बुँदे निर्देशनसमेत दिएको छ । उहाँले स्थानीय चुनावको अनुभवबाट पनि राजनीतिक दलले आचारसंहिता पालना गर्न प्रतिबद्ध रहने जिकिर गर्नुभयो ।
आचारसंहिता भदौ १३ गते राजपत्रमा प्रकाशित भइसकेको छ । निर्वाचन आयोग ऐनमा आयोगले निर्णय गर्ने दिनदेखि आचारसंहिता लागू हुने व्यवस्था छ । आचारसंहिता उल्लङ्घनका गतिविधि अनुगमन गर्न आयोगले तोकेको एक जना आयुक्तको संयोजकत्वमा समिति रहनेछ भने जिल्ला तहमा अनुगमन संयन्त्र गठन गरिनेछ । प्रमुख जिल्ला अधिकारी उक्त संयन्त्रको सहसंयोजक रहनेछन् ।





