प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तीन नम्बर पुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

२०७९ आश्विन २०, बिहीबार ०९:०७ बजे

हेटौंडा – बाराको नजिकै तीन नम्बर पुल छेउमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। मृत्यु हुनेमा १० पुरुष र ६ महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।

हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृतक सबैको सनाखत हुन बाँकी छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडमा बिहीबार बिहान दुर्घटना भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको चितवन मेडिकल कलेज रिफर गरिएको छ । त्यस्तै २२ जनाको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण अझै खुलेको छैन । त्यसबारे बारा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।