प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

रबि लामिछाने राजनीतिमा आउने, राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी

२०७९ असार २, बिहीबार ०९:४५ बजे

काठमाडौं – पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा 'सिधा कुरा' कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

'टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो', लामिछानेले भने, 'आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।'

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

'म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु', लामिछानेले भने, 'मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।'

लामिछानेले आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रबारे केही बताएका छैनन् । उनी आगामी चुनावमा काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने बुझिएको छ ।

काठमाडौं क्षेत्र नं ३ मा विगतमा नेपाली कांग्रेसका चक्र ठकुरीले निर्वाचन जित्ने गरेका थिए। तर पछिल्लोपटक नेकपा एमालेका रामेश्वर फुयाँलले २०७० र २०७४ मा नेकपा एमालकै कृष्ण राईले चुनाव जितेका थिए।

लामिछानेले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए। लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ। 

सेतोपाटी डटकमबाट