प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ

२०७९ कार्तिक २७, आईतबार ०५:४३ बजे

बझाङ – खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ।

पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो।

‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले भने।

उनकाअनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन्।

खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन्।

मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीय चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए।

सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्।