हेटौंडा – बस्तीपुर जेसिज हाँडीखोलाले १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष अमृत पाठकसहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरेको छ। हेटौंडा–१९ को जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसिज प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित अमृत पाठकलाई पद हस्तान्तरण गरेका हुन् ।
जेसिजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई,कोषाध्यक्ष सन्देश पण्डित,महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक सहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
बस्तिपुर जेसिज हाँडीखोलाका नवनिर्वाचित अध्यक्ष पाठकले पदभार ग्रहणको कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। अध्यक्ष पाठकले आफ्नो कार्यकालमा गरिब तथा विपन्न विद्यार्थीहरूको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताए ।
कार्यक्रममा उनले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नदिन आफूले विशेष पहल गर्ने बताए । उनले भने , "हाम्रो समाजमा धेरै गरिबी र असमानता छन्। सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ आफुले सकेको सक्दो सहयोग गर्नेछु।"
यस्तै पाठकले व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिबृद्धि नागरिकहरुको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण रहेको भन्दै सो क्षेत्रमा काम गर्दै आएको र आफ्नो कार्यकालमा पनि यसलाई प्राथमिकता दिइने उनले बताP। उनले विभिन्न नेतृत्व तथा व्यक्तित्व विकास तालिम तथा कार्यक्रमहरू सञ्चालन गरी समुदायका मानिसहरूको क्षमता अभिबृद्धिमा जोड दिने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य एवं पुर्व ऊर्जा राज्यमन्त्री दीपक बहादुर सिंहले जेसिजले देखाएको नेतृत्व हस्तान्तरणको शैलीबाट अन्य राजनीतिक दलका नेताहरूले पनि सिक्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेताहरू ५ पटक मन्त्री बन्दा पनि पदको लोभ त्याग्दैनन् र हस्तान्तरणको कला बुझ्दैनन्। तर जेसिजले गरेको पद हस्तान्तरणबाट नेताहरूले सिक्नुपर्छ।’
उनले दलमा पनि जेसिज जस्तो नेतृत्व हस्तान्तरण गर्ने शैलीको विकास गर्नुपर्नेमा जोड दिए । साथै, आफू घुस नलिने र जनताको हित हुने काममा मात्र लाग्ने घोषणा गरेका छन् । सिंहले भने, "म कहिल्यै पनि घुस खाँदिनँ र खान पनि दिँदिनँ। म जनताको सिर निहुर्ने, जनहितविपरीत हुने काम गर्दिनँ।"साथै उनेले युवालाई सक्रिय राजनीतिमा आउन आग्रह गर्दै युवाहरू नै देश बचाउन सक्ने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जेसिजलाई आह्वान गर्दै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी युवाहरूलाई सशक्त बनाउन आग्रह गरे । त्यसका युवाहरूलाई सशक्त बनाउन लागि आफू सधैं साथ र सहयोग गर्न तयार रहने प्रतिबद्धता जनाए ।
पदस्थापना तथा पुरस्कार वितरण समारोहमा मकवानपुरका सकृय पत्रकार रुपक कालिराजलाई 'स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार' प्रदान गरिएको छ। सामाजसेवी पुरस्कार ॐ बृद्ध आश्रयका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई प्रदान गरेको छ ।
पुरस्कृत कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला, सम्मानपत्र र मालाका साथ वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र पूर्व ऊर्जा राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले कालिराजलाई सम्मान गरेका हुन्।
सो कार्यक्रमको संयोजक आरती पाठक रहेकी थिइन्।वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष शिवराज उप्रेतीले स्वागत मन्तव्य दिएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती,नेपाल जेसिजका महासचिव सरोज अधिकारी,हेटौंडा जेसिज बर्ष २०२४ का अध्यक्ष बिकेश लाल श्रेष्ठ, बस्तिपुर जेसिज २०१८ का अध्यक्ष राममणी बर्तौला,पुर्व अध्यक्ष राजेश भेटवाल लगायतले मन्तव्य दिएका थिए ।
एक व्यक्ति एक पद एक वर्ष कार्यकाल रहने जेसिजको परम्परा अनुसार जिम्मेवारी परिवर्तन गर्ने परम्परा छ । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरू,पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।