हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटिया बस्ने ५० बर्षीय धर्मराज पौडेल रहेका छन् ।
धरान–चतरा सडक खण्डमा अन्तर्गत आइतबार हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा पौडेल गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी हेटौंडा अस्पताल पठाईएकोमा उपचार सम्भव नभएपछि चितवन रिफर गरीएको थियो ।
उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव सोही अस्पतालमा नै रहेको छ । मोटरसाइकल चालक बकैया गाउँपालिका वडा नं.१२ घलेगाँउ बस्ने ३१ बर्षीय बलराम घले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।