हेटौंडा – आशिष चौधरीको डेब्यू गोलमा नेपालले १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानमाथि १–० गोलको जित हात पारेको हो ।
नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे । खेलको ८० औं मिनेटमा आशिषले डिबक्स लाईनबाट प्रहार गरेको बलले पाकिस्तानको गोल पोष्टको जाली चुम्यो ।
चौधरीले लाकेन लिम्बुको उत्कृष्ट पासमा गोल गरेका हुन् । उनको यो नेपालका लागि डेब्यु गोल हो । यस जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
समूह ए मा नेपालले आफ्नो पहिलो जित हात पारेपनि यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पाकिस्तान अंक विहीन रहदै पुछारमा छ।