प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक प्रदान

२०७९ कार्तिक ३, बिहीबार ०६:५८ बजे
हेटौंडा – नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाडिङमा प्रतिस्पर्धा गर्ने क्रममा आइतबार खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ ।
 
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले निसिमको सम्मानमा मानार्थ स्वर्ण पदक मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको बुधबार साँझ पोखरामा बसेको बैठकले पोखरा रंगशालाको हाता भित्र निसिमको अर्धकदको शालिक राख्ने निर्णय समेत गरेको छ ।
 
यस्तै थापाको परिवारलाई सहयोगका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निशिमको निधन भएको थियो ।
 
त्रिभुवन आर्मी क्लबबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो । गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल पुरइएका उनलाई डाक्टरले चेकजाँचपछि मृत घोषित गरेको थियो ।