हेटौंडा – अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी सोमबार दिउँसोसम्म ६ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा संखुवासभामा १ जना, ताप्लेजुङमा ३ जना, पाँचथरमा १ जना र नुवाकोटमा १ जना रहेका छन् । जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन् ।
बाढी र पहिरोकै कारण संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाढी र पहिरोमै परेर २९ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार संखुवासभामा २१ जना, ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी जम्मा २९ जना वेपत्ता भएका हुन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । ६७ वटा पशु चौपायको मृत्यु भएको छ भने विपद्का घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन् ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय, स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको जनाएको छ ।