हेटौंडा – बर्षायाम सुरु भएयता नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार पूर्णरुपमा बन्द छ । तर, मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिकै नेतृत्वमा नदीजन्य पदार्थ(ढुङ्गा) मौज्दात प्रमाणित नगरी ओसारपसार गरेको पाईएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं.७ का वडासदस्य प्रतिमान रुम्बाको नेतृत्वमा जिल्ला समन्वय समिति मकवानपुरबाट मौज्दात प्रमाणित नै नगरीएको ढुङ्गा निकासी गरेको पाईएको हो ।
निर्माण व्यवसायी अर्थात ठेकेदार समेत रहेका वडासदस्य रुम्बाले आफु शिवम सिमेन्ट उद्योगसंग खरिद गरेको ढुङ्गा मकवानपुरढी गाउँपालिका राजस्व बुझाएर ओसारपसार गरेको बताए ।
“अहिले खोलाबाट ढुङ्गा उठाउन बन्द छ, उठाएर ल्याउनेहरुलाई पालिकाले जरिवाना गर्यो,” रुम्बाले भने, “त्यही समुहले मेरो बैध ढुङ्गालाई अबैध भन्दै अफवाह फैलाएको हो ।”
मकवानपुरगढी गाउँपालिकाले स्टक प्रमाणीतको लागि जिल्ला समन्वय समिति(जिसस)मकवानपुरमा पठाएपनि स्वीकृत भने भएको छैन । जिससबाट मौज्दात प्रमाणीत नहुँदा यस्तो समस्या देखिएको पालिकाका योजना प्रमुख प्रकाश न्यौपानले बताए ।
अवैध रुपमा ढुङ्गा ओसारपसार गर्ने काम करिब एक सातादेखि भइरहेको पाईएपछि प्रहरी र स्थानीयहरुले मालबहाक टिपरलाई नियन्त्रणमा लिएका छन् । गएराति चार वटा टिफरलाई मकवानपुरगढी–२ मा नियन्त्रणमा लिएको हो ।
ढुङ्गा सहित टिपर नियन्त्रणमा आएपछि मकवानपुरगढी गाउँपालिकाभित्रका स्वार्थ समुहबीच खैलाबैला मच्चिएको छ । केही जनप्रतिनिधिहरु टिपरलाई तेतिकै छाडिदिने भन्दै आन्तरिक रुपमा समन्वय गरिरहेको समेत बुझिएको छ । उक्त कार्यमा संलग्न ब्यक्तीहरुलाई “कारवाहीको दायरामा ल्याउने कि छाडिदिने” भन्ने बिषयमा आन्तरिक रुपमा चर्को बहस भइरहेको स्रोतले बतायो ।
मध्यरातमा ढुङ्गा ओसारपसार गर्नु र जनप्रतिनिधि गुपचुप कतै मिलोमत्तो छैन, भन्ने प्रश्न स्थानीयहरुले गरेका छन् । पालिकाका एक प्रतिनिधि भने, “यदी स्टक प्रमाणीत छैन, नियन्त्रणमा लिएको गाडीलाई जरिवान गरिनु पर्छ ।” यसबारेमा थप बुझ्न खोज्दा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले फोन उठाएनन् ।