प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निकुञ्जभित्र गैँडा मारेको आरोपमा मकवानपुरका चार सहित ८ जना पक्राउ

२०८० मंसिर १४, बिहीबार १९:२५ बजे

हेटौंडा – चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडालाई खाल्डोमा पारेर मार्ने र खाग तस्करी गर्ने ८ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। निकुञ्जले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका ४ जना, चितवनका २ जना, गोरखा र पाल्पाका १/१ जना रहेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवर्ट बस्ने रमेश खाती, राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४२ वर्षीय पाशाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई हेटौंडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँ बस्ती बस्ने ५६ वर्षीय सीताराम थिङ, रोल्पाको सुनछहारी–६ फगाम घर भई हेटौंडा उपमहानगरपालिका–५ बस्ने अर्जुन रोका रहेका छन् ।

त्यस्तै गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरूङ, चितवनको कोराक घर भई राप्ती–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान र मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने ईन्द्रबहादुर तामाङ रहेका छन् ।

गत कात्तिक ३० गते चितवन निकुञ्जको पूर्वी क्षेत्रस्थित चपरचुली क्षेत्रको कोर इलाकामा २ वटा पोथी गैंडा मृत फेला परेका थिए। घटनाको अनुसन्धान गर्दै जाने क्रममा उनीहरुले गैँडा मारेर बिक्रीका लागि तयारी गर्दैगर्दा पक्राउ गरिएको निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।

खाल्डो खनेर माथिबाट गैंडालाई मन पर्ने घाँसहरूले छोपी, प्राकृतिकजस्तो देखाएर पासोमा पारिएको अनुसन्धानले देखाएको ढुंगानाले  बताए । गैंडा हिँड्दै खाल्डोमा परेको हुन सक्ने उनको अनुमान छ । 

उनका अनुसार रमेश खाती, सीताराम थिङ गैंडा मार्न योजना बनाउने व्यक्ति हुन् भने आइते सिंह मोक्तान, उनबहादुर स्याङतान र ईन्द्रबहादुर तामाङ गैंडा मार्न बन्दुक लगायतको हतियार बोकेर निकुञ्ज प्रवेश गरेका थिए । त्यस्तै शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरूङले खाग बिक्री वितरणको काम गरिरहेका थिए।

पक्राउ पर्नेमध्ये रमेश खातीलाई यसअघि पनि शंकास्पद भनेर निकुञ्जले पक्राउ गरेर सोधपुछ गरेको थियो। उनीविरूद्ध प्रमाण पुग्न सकेपछि त्यतिकै छाडेको थियो । पक्राउ परेका आठै जनालाई चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको पुनले जानकारी दिए।