काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड मनिष डाँगी थाई क्लब रायोङ एफसीमा आबद्ध भएका छन्। हाल थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेलिरहेको रायोङले मनिषसँग सम्झौता गरेको सार्वजनिक भएको छ।
गत सिजनको सहिद स्मारक ए डिभिजन लिग संकटाबाट खेलेका २१ वर्षीय मनिषले राष्ट्रिय टिमबाट १७ खेलमा ३ गोल गरिसकेका छन्। गत वर्ष नेपाली राष्ट्रिय टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नुअघि नगावर्ल्ड एफसीसँग अभ्यास खेल खेलेको थियो। सो खेलमा उनले राइट विङबाट उत्कृष्ट खेल देखाउँदै गोलका लागि पास दिएका थिए। त्यहिँ खेलबाट रायोङ प्रभावित भएको थियो।
डाँगीलाई २०७७ को चैतमा तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक राष्ट्रिय टिममा स्थान दिएका थिए। त्यसपछि राष्ट्रिय टिममा समेटिएका उनले पूर्वएसियन च्याम्पियन इराकविरूद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेर डेब्यू खेलमै गोल गर्न सफल भएका थिए। सो खेलमा नेपाल ६-२ ले पराजित भएको थियो।