कैलाली – गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेको प्रहरीले जनाएको छ ।
धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।