प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तामाङको घर खोजतलास गर्दा ७ किलो सुन बरामद, ५ जना पक्राउ

२०८० आश्विन १३, शनिबार ०८:४८ बजे

चरीकोट – दोलखाको सिँगटी बजारबाट सात किलो सुनसहित पाँच जनालाई पक्राउ गरिएको छ । प्रहरीले बिगु गाउँपालिका–३, जामुनेस्थित सीता तामाङको घर खोजतलास गर्दा बिहीबार चार किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहितको टोलीले शुक्रबार सोही घरको अर्को कोठाबाट थप तीन किलो सुन बरामद गरेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

प्रहरीले बिहीबार सदरमुकाम चरीकोटको शुभकामना होटलबाट दोलखाको बिगु गाउँपालिका-१, लामाबगरका ५५ वर्षीय नुर्बु छिरिङ शेर्पा र ३० वर्षीय सुनमाला तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका शेर्पा र तामाङ श्रीमान् / श्रीमती भएको दोलखा प्रहरीले जनाएको छ । अवैध सुन ओसारपसारको अभियोगमा बुधबार राति प्रहरीले जिल्लाको बिगु गाउँपालिका-१, स्यालूका २८ वर्षीय केशर तामाङ, बिगु - १ लामाबगरका १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोङ्गरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो ।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको अवस्थामा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताउनुभयो । प्रहरीले सिँगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई चार किलो सुनसहित पक्राउ गरेको
र तामाङकै बयानको आधारमा थप दुई जनालाई पक्राउ परेका खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाबाट बरामद भएको चार किलो सुन, मोबाइल र नगद सामान सार्वजनिक गरेको छ । बरामद भएको सुन जस्तो धातुको तौल चार किलो भएको र सुन पुष्टि भएमा त्यसको बजार मूल्य तीन करोड ७७ लाख ४७ हजार ८०५ रुपियाँ हुने उहाँले बताउनुभयो । बरामद भएको सुन लामाबगरको फलाक नाकाबाट नेपाल भित्रिएको हुन सक्ने उहाँको भनाइ छ ।

चिनियाँ नागरिकले नुर्बु छिरिङमार्फत सुन पठाएको र उनले अन्य व्यक्तिलाई ओसारपसारमा संलग्न गराएको खड्काले बताउनुभयो । बरामद भएको सुन परीक्षणका लागि काठमाडौं पठाइने र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामाबगरबाट रोङजिया नाका पुग्न एक दिन हिँड्नु पर्छ । बिगु-१, चीनसँग सीमा जोडिएको वडा हो । चीनले एक साताका लागि रोङजिया नाका खुलाए पनि लप्ची नाका खुला गरेको छैन। गत आइतबार चीनले उक्त नाका एक साताका लागि खुलाएको थियो । हिमाली क्षेत्रको जङ्गलको बाटो भएर मात्रै रोङजिया पुगिन्छ। त्यहाँबाट चीनको टिङ्गी काउन्टीको फलाक बजार नजिकै पर्छ ।

आरोपितले फलाकबाट सुन बोकेर ल्याएको बयान दिएको दोलखाका प्रहरी प्रमुख खड्काको भनाइ छन्। प्रहरीले बरामद सुनमा चिनियाँ नागरिक नै संलग्न रहेको बताए पनि परिचय खुलाएको छैन। पक्राउ परेकाको बयानका आधारमा फरार रहेका स्थानीयसँग पनि सुन रहेको हुन सक्ने अनुमान गरिएको छ ।गोरखापत्र दैनिकबाट