हेटौंडा – प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जनालाई पक्राउ गरेको छ ।
झापा बुद्धशान्ती गाउँपालिका– ३ बुद्धटोलबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय २ ग्राम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ घर भई हाल बुद्धशान्ती गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् ।
शनिबार बेलुका लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका–८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
त्यस्तै सिरहा धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर १० ग्राम ९ सय २० मिलिग्राम र नगद २९ हजार रूपैयाँ सहित दुई जना पक्राउ गरेका छन् ।
धनगढीमाई१३ बस्ने १८ वर्षीय किशोर सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बर्दिया बढैयाताल गाउँपालिका– २ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ८ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोर समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका–१ कारागार नजिकबाट सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय आयुष सिंहलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दाङ लमही नगरपालिका–९ अमिलियाबाट अवैध लागूऔषध चरेश ३ सय ९५ ग्राम सहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदेश ३–०२–००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।