प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

किबीखेतीमा लागेका वडाध्यक्ष थापालाई भ्याइनभ्याइ

२०८१ कार्तिक २८, बुधबार ०८:०५ बजे

गलकोट – बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्।

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्।

तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ। उनले यसपालि सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए।

उनले किबीसँगै कागती खेती पनि गरेका छन्। जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको उनले बताए। वडाध्यक्ष थापाका बारीमा १५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट ३३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना रहेको सुनाए। किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए।

हाल स्थानीय बजारमा २५० देखि ३०० रूपैयाँ किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म दुई लाख आर्जन गरेको उनले बताए।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर १४० रोपनी जग्गामा लगाइएको थियो भने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए।

अलैँची पकेट क्षेत्र विस्तारका लागि १५ लाख बजेट विनियोजन भएको छ।साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ।