हेटौंडा – रातको समयमा चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदुषण गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सदरमुकाम कलैया स्थित गए राति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका १ का ५० वर्षीय जयराम सिंह रहेका छन् ।
कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।