प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

तीन वर्षमा वैदेशिक रोजगारीमा गएका तीन हजार १९९ नेपाली श्रमिकको मृत्यु

२०७९ पौष ७, बिहीबार ०४:१५ बजे

काठमाडौँ –  वैदेशिक रोजगार बोर्डको सचिवलायका अनुसार पछिल्लो तीन वर्षमा तीन हजार १९९ जना नेपाली श्रमिकको गन्तव्य देशमा मृत्यु भएको छ । यो सङ्ख्या बोर्डको सचिवालयमा क्षतिपूर्ति प्राप्त गर्नेको मात्रै हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२२’ का अनुसार आव २०७६/७७ मा ६५८ श्रमिकले ज्यान गुमाएकामा आव २०७७/७८ मा एक हजार ११८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो सङ्ख्या बढेर आव २०७८/७९ मा एक हजार ३९५ पुगेको छ ।

यसैगरी प्रतिवेदनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका रहेको देखाएको छ । गएको तीन वर्षमा मधेश प्रदेशका ७५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् ।

यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ । तीन वर्षमा प्रदेश १ का ७०९ जना श्रमिकले ज्यान गुमाएका छन् । यस्तै त्यही अवधिमा लुम्बिनी प्रदेशका ६६८ र गण्डकी प्रदेशका ४७८ श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

यस्तै बागमती प्रदेशका ४०९, कर्णाली प्रदेशका ११० जना र सुदूरपश्चिम प्रदेशका ६५ जना श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सो अवधिमा वैदेशिक रोजगारीमा धेरै जाने प्रदेशमा पनि मधेश पहिलो नम्बरमा छ । गएको तीन वर्षमा जम्मा वैदेशिक रोजगारीमा गएकामध्ये मधेश प्रदेशबाट मात्रै २८ दशमलव ६८ प्रतिशत रहेका छन् । यस्तै प्रदेश १ बाट २० दशमलव २४ प्रतिशत र लुम्बिनी प्रदेशबाट १६ दशमलव ८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी प्रतिवेदनअनुसार बागमती प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमा १५ दशमलव ४८ प्रतिशत, गण्डकी प्रदेशबाट १२ दशमलव १९ प्रतिशत रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट ३ दशमलव ८५ र सुदूरपश्चिम प्रदेशबाट २ दशमलव ७३ प्रतिशत रहेका छन् ।गोरखापत्र दैनिकबाट