प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एकजनाको मृत्यु

२०७९ भाद्र ३०, बिहीबार ०७:२५ बजे

चितवन – जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया महिला हुन्। उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एकजनाको मृत्यु भएको छ ।

ती वृद्धा भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन् । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकी र उनको खोजी भइरहेको छ । राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किएकी छन्। उनको स्मरण शक्ति कमजोर देखिएको छ । यस्तै कालिका नगरपालिकाका एकजना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किएका छन्। उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईँले जानकारी दिए। रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ ।

सोही वडाका ५२ वर्षीया एक महिला, वडा नं १९ का ७० वर्षका पुरुष र वडा नं २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उनीहरुको खोजी भइरहेको छ । रगतका नमूना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो ।

उक्त कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ जनामध्ये चार, माडीमा पाँच जनामध्ये दुई, राप्तीमा दुईजनामध्ये एक, कालिका नगरपालिकामा एक रत्ननगरमा दुई जनामध्ये एकमा सङ्क्रमण देखिएको हो ।

साउन १५ गतेदेखि यस्ता बिरामी देखिन थालेकामा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्का लागेकाले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको कार्यालय प्रमुख चापागाईँले बताए । हाल यो रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् ।

सन् २०२१ र २०२० मा एक एक जनामा यो रोग देखिएकामा सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । उनले भने, 'सम्भवतः जिल्लामा यसरी महामारीको रूपमा बढेको पहिलो हो ।'

सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको कार्यालय प्रमुख चापागाईँको भनाइ थियो ।

यो रोग अप्रिल-मेदेखि सेप्टेम्बर-अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए।

मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए।

रासस