काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा.एस जयशंकरले भेट गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुगेका हुन् । नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।
भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ ।
परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।