प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज देशको यी स्थानमा बर्षा, हिउँ पर्ने सम्भावना कति ?

२०८० माघ २, मंगलबार १८:०९ बजे

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली हुँदा काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

सो स्थानमा पानी १० मिलिमिटर भन्दा कम परेको मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्का आसपासमा ठूलो मात्रामा हिमपात भएको उनको भनाइ छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने उनले बताए । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

मौसमविद् नगरकोटीका अनुसार मौसम पर्सिसम्म खुल्ने सम्भावना छैन । उनले भने, “पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सुरकुहिरो लाग्नाले चिसो अझै बढ्नेछ ।”