प्रहर खबर
 २०८० जेठ २०, शनिबार    

एमालेको स्थायी कमिटी बैठक: के–के निर्णय भयो ?

२०७९ भाद्र ७, मंगलबार १९:१८ बजे

काठमाडौं – नेकपा (एमाले) स्थायी कमिटीको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्यो । बैठकले स्थायी कमिटीको तेस्रो बैठकपछि सचिवालयले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।

साथै, केन्द्रीय कमिटी तथा सल्लाहकार परिषद् र विभिन्न विभागका सचिव पदमा गरिएको मनोनयनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।
बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्तमा जानकारी गराए ।

बैठकमा प्रदेश इन्चार्जहरू प्रदेश–१ का देवराज घिमिरे, मधेश प्रदेशका रघुवीर महासेठ, बाग्मती प्रदेशका काशिनाथ अधिकारी, लुम्बिनी प्रदेशका छविलाल विश्वकर्मा, कर्णाली प्रदेशका यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आ–आफ्नो प्रदेशको राजनीतिक तथा सांगठानिक अवस्थाका बारेमा रिपोर्टिङ गरे।

बैठकमा सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, रघुजी पन्त, खगराज अधिकारी, प्रभु साह, कर्ण थापा, गुरु बराल, मणिचन्द्र थापा, शेरबहादुर तामाङ, शेरधन राई, गोरखबहादुर बोगटी र हिक्मत कार्कीले आ–आफ्ना धारणा राखेका थिए ।