प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशका ५ जना कर्मचारीको बढुवा

२०८० मंसिर २१, बिहीबार ०८:४० बजे

हेटौंडा – बागमती प्रदेश सरकारले १० औं तहका ५ जनालाई ११ औं तहमा बढुवा गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका प्रशासनतर्फका १ जना र स्वास्थ्यतर्फका ४ गरी ५ जनालाई बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।

प्रदेश निजामती सेवा ऐन २०७९ मा प्रदेशको अधिकृत ११ औं तहका कर्मचारी प्रदेश सचिव रहने व्यवस्था रहेको छ । सोही अनुसार मन्त्रीपरिषद् बैठकले प्रशासनतर्फ दीपेन्द्र सुवेदी, स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झालाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

सुवेदीलाई शिक्षा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ । त्यस्तै तिवारीलाई स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा अधिकारीलाई बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा र झालाई बागमती प्रदेशको स्वास्थ्य तालिम केन्द्र काठमाडौँको प्रमुखमा पदस्थापन गरिएको छ ।