प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाईकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी दुर्घटना, एकको मृत्यु, आठ घाइते

२०८० कार्तिक १, बुधबार ०९:२७ बजे

काठमाडौं – इलेक्ट्रिक गाडीले मोटरसाईकललाई ठक्कर दिएर भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकी रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको बिहान ७ः३५ बजे धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्क प्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय राम कुमार राई, उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार, रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।