काठमाडौं –१६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ परेकी छन् । यो घटना दाङको लमहीको हो ।
लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।
उनका अनुसार चौधरीले घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले फेला पारेका थिए । १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत रहेको उनले बताए ।
उनले शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताए।