हेटौंडा – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत केराबारी र १८ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका ५ हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ । बिहिबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्द सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।