काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक फाइनल खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न १२ बजे सुरु हुनेछ।
सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। उता, जनकपुर बोल्ट्सले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनलमा पुनः स्थान सुरक्षित गरेको छ।
एनपीएलका यसअघिका खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा चितवन राइनोजका रबि बोपारा शीर्ष स्थानमा छन्। उनले प्रतियोगितामा २८६ रन बनाएका छन्। लुम्बिनीका रोहित पौडेलले २७९ रन बनाएर दोस्रो स्थानमा छन्। जनकपुरका जेम्स निसमले २४३ रन बनाएर तेस्रो स्थानमा छन् र आजको खेलमा सहभागी हुने भएकाले सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्ने सम्भावना छ।
प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ। तेस्रो स्थानमा रहेको टोलीले २५ लाख र चौथो स्थानमा रहेको टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
नेपालको घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा रहेको एनपीएलको फाइनल खेलप्रति दर्शकको उच्च चासो रहेको छ। आजको खेलमा उत्कृष्ट प्रदर्शन हेर्नका लागि मैदान भरिने अपेक्षा गरिएको छ।