काठमाडौं – पाल्पा तानसेन नगरपालिका वडा नम्बर ८ डुम्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत मंगलबार साँझ पौने ७ बजेको समयमा डुम्रेस्थित भएको दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ३१ प ६५०७ नम्बरको उक्त मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका ठकुरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय प्रवीन उचई घाईते छन्। घाइतेको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।