काठमाडौं – राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सहित आठ दलको साथ छ। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाममा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको एमालेले जनाएको छ। राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै नेताले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।
पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो।
उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान हुनुहुन्छ।
यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ।