हेटौंडा – पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरको सुर्यविनायक नगरपालिका–१० नलिन्चोक क्षेत्रबाट दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ का लेख बहादुर कार्की रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सिन्चुरी र कार्कीलाई पक्राउ गरेको हो । त्यस क्षेत्रमा लागु औषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो।
पक्राउ परेका दुईजनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल एक थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीेले जनाएको छ ।