प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पत्थरी अपरेसनमा मिर्गौला फाल्दा बिरामीको मृत्यु

२०८० भाद्र ११, सोमबार ०९:५७ बजे

धनगढी – कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा पत्थरीको अपरेसन (शल्यक्रिया) गरिएका बिरामीको मृत्यु भएको छ । गोरखापत्र अनलाइनका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । पत्थरीको अपरेसनपछि चिकित्सकले किड्नी (मिर्गौला) झिकेर फाल्दा अत्यधिक रक्तस्राव भई बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका भतिजा राजकुमार चौधरीका अनुसार बाँया किड्नीमा भएको पत्थरीको अप्रेसनपछि रक्तस्राव सुरु भएको थियो । “त्यसपछि अपरेसनमा संलग्न डाक्टरले नसा काटिएको स्वीकार्दै मान्छेको ज्यान जोगाउन किड्नी फाल्नुपर्ने भन्दै किड्नी या ज्यान रोज्न भनेका थिए”, चौधरीले भने, “यस्तो भनेपछि स्वाभाविक रुपमै हामीले ज्यान रोजेका हौं । तर, किड्नी झिक्दा काकाको मृत्यु भयो ।”

आफन्तका अनुसार मृतक चौधरीको बायाँ किड्नीमा ११ एमएम र ९ एमएमको गरेर दुई वटा, दायाँ किड्नीमा नौ एमएमको एउटा पत्थरी थियो । गत भदौ ९ गते अपरेसन गरेर दुई वटै किड्नीको पत्थरीको निकालिएको थियो ।

मृतकका आफन्तहरुले डाक्टरको लापरवाहीको कारण आफ्नो बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् । अस्पताल प्रशासनले बिरामीको अपरेसनमा चिकित्सकबाट लापरवाही नभएको दाबी गरेका छन् । आफन्तले आफ्नो विरामीको आइतबार नै मृत्यु भएको दाबी गरेका छन् । तर अस्पतालले भने आज विहान ९ बजेमात्रै चौधरीको मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।