काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो ३ सय २० ग्राम सुन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।
उनीहरुलाई अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त सुन सहित अग्रवाल र जबेरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए ।
अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको सुनको बाला १ थान र सिक्री १ थान बरामद गरिृएको प्रहरीले जनाएको छ । त्यस्तै जबेरीलाई विमानस्थलको आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा १ सय ग्राम तौल भएको सुनको बाला १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।