हेटौंडा – प्रहरीले गाईरगोरुको मासु सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी चेकिङ टोलीले मुग्लिङ तर्फबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह ३९६९ नं. को अटोबाट गाईरगोरुको मासु सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका–५ बस्ने बर्ष २८ को शंकर तामाङ, चितवन भरतपुर महानगरपालिका–१० बस्ने बर्ष ४५ को प्रतिक ठकुरी र कास्की पोखरा महानगरपालिका–११ बस्ने बर्ष ३५ को होम घिमिरे रहेका छन् ।
उनीहरु सवार अटोबाट प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरुरगाईको मासु, खुट्टा सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मासु, अटो सहित नियन्त्रणमा लिएर उनिहरु विरुद्ध पशुपन्छि सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।