काठमाडौं – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुगेका छन् । आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् ।
नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्।
यसैबिच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटबार्ता गर्नेछन् ।
महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
साथै, मङ्गलबारको कार्यसुची अनुसार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाईसकेको छ ।