काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीर अध्ययनका लागि नजलाई नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।
१०३ वर्षीय जोशीको उपचारको क्रममा किस्ट अस्पतालमा आइतबार बिहान निधन भएको थियो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।
जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए ।
केही समय भने उनको शरीरलाई अन्तिम दर्शनको निम्ति अस्पताल परिसरमै राख्ने तयारी भएको छ । विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । उनका दुई छोरा रहेका छन् ।