प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १० जना घाइते

२०७९ फाल्गुन २४, बुधबार ०४:४८ बजे

हेटौंडा – दार्चुला र धनुषामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएका छन् १० जना घाइते भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका ४ बाङ्गाबगरमा आज जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक सहित ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतिय नागरिक ६० वर्षीया काली देवी नेगी रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई थप उपचारको लागी भारततर्फ पठाइएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । मधेश प्रदेश ०३ ००१ ज ०३ ४० नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १४ मा आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सिराहाको कर्जन्हा नगरपालिका ७ की ६५ वर्षीया ईशरा देवी रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका चालक धनुषाकै वटेश्वर गाउँपालिका ५ का २० वर्षीय निराज श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । महेन्द्रनगरबाट जनकपुर तर्फ जादै गरेको ज ६ प २२ १७ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।