प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सङ्घीय सरकारको सहमतिसंगै गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको बाटो खुल्यो, अब संयुक्त लगानीमा बन्ने

२०८० पौष २६, बिहीबार १८:२२ बजे

हेटौंडा – सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदानसंगै गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माणको बाटो खुलेको छ । बैठकले भरतपुर महानगरपालिकालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन सहमति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बनाइने सहमति जुटेको हो । भरतपुर महानगरले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त रंगशाला धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेका थिए ।

उक्त आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने बताईएको छ । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने भरतपुर महानगरकी प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए सङ्घीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रङ्गशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सङ्घीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।