काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।
युएईले दिएको लक्ष्य नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।
यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।
नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल ५० रन, आरिफ शेखले ५२ रन, भिम सार्कीले ६७ र गुलशन झाले ५० रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए । त्यस्तै आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे ।
युएईका जुनेद सिद्दिकीले ३ विकेट, आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो।
युएईका लागि आसिफ खानले १ सय १ रनको शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।
यस्तै भ्रित्य अरबिन्दले ९४ रन र कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । रोहन मुस्तफा २० रन, सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट, ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।
जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।