मकवानपुर – बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वाँगी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारले अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिएको हो। चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै छन् ।
त्यस्तै चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउने कार्यक्रम समेत तय भएको छ । सामूहिक रुपमा न्वाँगी पर्व मनाउन नपाउनेले आ–आफ्नो घर र समुदायमै मनाउने छन् ।
चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनिको रुपमा समेत लिइन्छ ।
भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्गो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् ।
नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ ।
नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।