प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्सीमा छुटेका गहना चालकले प्रहरीमार्फत धनीलाई बुझाए

२०८० मंसिर ३, आईतबार २०:२० बजे

काठमाडौँ – काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गरेका हुन् ।

जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

कार्यालयमा रहेको खोजतलास शाखाले सवारीसाधनमा छुटेका धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । गत साउनदेखि हालसम्म एक सय ३३ जनाले दिएको निवेदनका आधारमा ९९ को धनमाल खोजी गरी रू ४० लाख छ हजार छ सय २५ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Shivam Cement
आफ्नो धनमालको सुरक्षा गर्न र सवारीसाधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन उनले आग्रहसमेत गरे ।