प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानव बेचबिखनमा संलग्न एक महिला पक्राउ

२०८० मंसिर १६, शनिबार २०:०३ बजे

काठमाडौं – मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल रहेकी छन् ।

सुर्खेत दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित रहेको यौन गतिविधि हुने केन्द्रमा लगेर बेचबिखन गरेको प्रहरीमा उजुरी परेको थियो ।

उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँके नेपालगंजबाट बिहीबार पक्राउ गरेको हो ।

मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेका तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीहरूलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।