काठमाडौं – विराटनगरको सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जनालाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।
विराटनगर महानगरपालिका–७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
घटनामा घाइते भएका मण्डलको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो। आगलागीमा परी अर्का एक जनाको गोदाममै मृत्यु भएको हो। आगो नियन्त्रणमा लिएपछि प्रहरीले शव फेला पारेको थियो। ती मृतकको सनाखत हुन सकेको छैन।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ।
उनीहरुको नेपाली सेनाको स्काई ट्रक मार्फत उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याईएको हो। कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो। गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीको भनाइ छ।