बागलुङ – पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नका रूपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ ।
कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो पछिल्लो समय शहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा शहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेको छ ।
निकै झन्झटिलो बालीका रूपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रूपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रूपमा प्रस्तुत गरिरहेका छन् ।
बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गएपछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताइन् ।
“चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्दछ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्”, उनले भनिन्, “पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो । पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पुर्याउने भएपछि कोदोको महत्व बढ्यो ।”
पहाडी जिल्लाका रूपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेशलगायतको क्षेत्रमा धानखेती बढी मात्रमा हुने गर्दछ ।
“पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ । चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ”, बागलुङको छिस्ती केवैका पूर्णबहादुर पुनले भने, “कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छु । छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुराँमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्छ ।”
जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रूपमा रहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले रैथाने बाली कोदो संरक्षण र प्रवर्द्धन गर्न थालेकाले कोदोखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बतए । यस्तै, ग्रामीण पोषण कार्यक्रमअन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको भट्टराईको भनाइ छ ।
कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको बताए । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवर्द्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ ।
पछिल्लो समय कोदोको माग शहर बजारमा समेत हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइबिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना बर्सेनि वृद्धि हुँदै गइरहेको छ ।