हेटौंडा – प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका६ तेलकोटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो सहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल विक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।
प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा।३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो ।
त्यस्तै बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम सहित भारत बहराईच बाबागंज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट अवैध लागूऔषध ब्राउनसुगर ६४ मिलिग्राम सहित भिमदत्त नगरपालिका(६ बस्ने २२ वर्षीय मोहित पहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाईन्टको ईजारमा लुकाई राखेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।