काठमाडौं – साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
यसअघि दोस्रो हाफको सुरुमै दुवै टोलीबीच हात हालाहालसम्म भएको थियो । खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बालाई रातो कार्ड देखाए । यस्तै बङ्गलादेशका साहिदुल इस्लामले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए ।
बराबरीसँगै चार खेलमा १० अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै चार खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको नेपालको फाइनल यात्रा भने भारत माल्दिभ्सबीचको खेलको नजिताले तय गर्नेछ ।
एक खेल कम खेलेकाे भारत भने ६ अङ्कसहित तेस्राे स्थानमा छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ । भारत र माल्दिभ्सबीचको खेल आज बेलुका ७:१५ बजे सुरु हुनेछ ।